Smiley face
थारु जातिलाई राज्यको मुलधारमा ल्याउनुपर्छ- पोख्रेल – ।।दाङ खबर।।
Smiley face

Home / दाङ विशेष / थारु जातिलाई राज्यको मुलधारमा ल्याउनुपर्छ- पोख्रेल
SAMSUNG CAMERA PICTURES

थारु जातिलाई राज्यको मुलधारमा ल्याउनुपर्छ- पोख्रेल

दाङ, पुस २८ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सभा सदस्य शंकर पोख्रेलले थारु भाषालाई कामकाजी भाषाका रुपमा अगाडि बढाउनु पर्ने बताउनुभएको छ । शुक्रबार दाङको घोराहीमा आयोजित माघी मिलन कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले यस्तो बताउनुभएको हो ।

मुलुकको परिवर्तनका लागि थारु समुदायले महत्वपूर्ण भूमिका खेलेको भन्दै पाँच नम्बर प्रदेशका प्रस्तावित मुख्य मन्त्री पोख्रेलले राज्यको मूलधारमा थारु समुदायलाई ल्याउनुपर्ने बताउनुभयो । ‘मुलुकको परिवर्तनका लागि थारु समुदायले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसको उच्च मूल्यांकन हुनुपर्छ’, पोख्रेलले भन्नुभयो, ‘राज्यको मुलधारमा थारु समुदायलाई ल्याउनुपर्छ ।’

पाँच नम्बर प्रदेश विशिष्ट पहिचान बोकेको प्रदेश भएको भन्दै पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहनु भएका पोख्रेलले यो प्रदेशको कामकाजी भाषाका रुपमा थारु भाषालाई पनि अगाडि बढाउने बताउनुभयो । पाँच नम्बर प्रदेशको नेतृत्व गर्ने जिम्मा दाङले पाएको भन्दै पोख्रेलले भन्नुभयो, ‘पाँच नम्बर प्रदेश विशिष्ट पहिचान बोकेको प्रदेश हो । यसको विकासका लागि यहाँका सम्पूर्ण पहिचानहरुलाई मिलाएर अगाडि बढ्नुपर्छ ।’

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष तेजमान चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै पोख्रेलले थारु संस्कृतिलाई राष्ट्रिय संस्कृतिका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । थारु बुद्धिजीवी कुलवीर चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारु भाषा संस्कृतिको संरक्षणका लागि उपमहानगरपालिकाकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

थारु कल्याणकारिणी सभा दाङको आयोजना र सहयोग समाज नेपाल, थारु पत्रकार संघ, नवि स्रोत परिचालन केन्द्र, गेरुवा ग्रामीण संस्थाको सहआयोजनामा भएको कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य निर्मल आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका ४५ गाउँका मघौटा नाचको प्रतियोगिता गराइएको थियो । प्रतियोगितामा घोराही–१७ ढिकपुर प्रथम, घोराही–७ सिसहनीया दोस्रो र घोराही–७ कै शुक्रवारले तेस्रो स्थान हासिल गरेको थिए । कार्यक्रममा घोराही–१० जलौराको बड्का नाच विशेष आकर्षणका रुपमा रहेको थियो ।

उक्त अवसरमा थारु भाषाका पुराना कलाकार बेझलाल चौधरी र चुल्ह्या चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा गायक प्रकाश प्रिय कुशुम्या, सालिकराम चौधरी, महेश चौधरीलगायतले आफ्नो प्रस्तुती राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण माधव चौधरी र विष्णु कुशुमले गर्नुभएको थियो ।

टरिगाउँमा माघी मिलन
यसैबीच दाङको टरिगाउँमा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । संयुक्त बाम गठबन्धन तुलसीपुर–१० को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गठबन्धनका संयोजक आत्माराम धितालको अध्यक्षता एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य हिराचन्द्र के.सी., प्रदेश सभा सदस्य उत्तर कुमार ओली, नेकपा माओवादी केन्द्रका दामा शर्मा, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण युवा संघका सन्तोष वलीले गर्नुभएको थियो


Gorkha Hospital Dang