Smiley face
सिफारिसको दुरुपयोग हुँदा वाणिज्य संघको गम्भीर आपत्ती – ।।दाङ खबर।।
Smiley face

Home / दाङ विशेष / सिफारिसको दुरुपयोग हुँदा वाणिज्य संघको गम्भीर आपत्ती

सिफारिसको दुरुपयोग हुँदा वाणिज्य संघको गम्भीर आपत्ती

शरद रेग्मी,
तुलसीपुर, पुस २८ । तुलसीपुर उद्योग वाणिज्य संघबाट केही दिन अगाडि राप्ती बहिरा संघले लगेको सहयोग सन्दर्भको सिफारिस पत्रको दुरुपयोग भएको बताएको छ । राप्ती वहिरा संघले सञ्चालन गरेको आवास गृहमा रहेका बालबालिकाहरुलाई सहयोग गरी दिनु हुन भन्ने व्यहोराको सिफारिसको दुरुपयोग भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राप्ती वहिरा संघले सञ्चालन गर्ने भनिएको महोत्सवमा तुलसीपुर उद्योग वाणिज्य संघको अनुमति छ भनि झुक्याएको हुँदा आम व्यवसायीहरुलाई सचेत रहन आग्रह गरिएको छ । हामीले तुलसीपुरमा मेला लाग्नु हँुदैन भनि तमाम व्यवसायी साथीहरुको असहमति रहदै आएको विषयमा आफूहरु गम्भीर रहेको संघका अध्यक्ष वीरबहादुर रावतले जानकारी दिनु भयो ।

तुलसीपुर क्षेत्रका व्यवसायीहरुको हकहित र संरक्षण गर्नु संघको पहिलो कर्तव्य रहेको भन्दै अध्यक्ष रावतले आगामी दिनमा तुलसीपुर उद्योग वाणिज्य संघको क्षेत्राधिकारभित्र आफूहरुको सहमति विना कुनै पनि मेला महोत्सव सञ्चालन गर्न नदिने निर्णय जानकारी दिनुभयो । उहाँले व्यवसायीहरुको गुनासोलाई सम्वोधन गर्न शुक्रबार आकस्मिक बैठक समेत बोलाइएको जानकारी दिनुभयो । बैठकमा सहभागी अधिकांश व्यवसायीहरुले तुलसीपुरमा मेला महोत्सव लाग्दा यस क्षेत्रको ठूलो रकम बाहिर जाने र व्यवसायीहरु झण्डै दुई महिनासम्म घाटामा घर भाडा तिर्नुपर्ने समस्या भोग्नु परेको भन्दै तत्काल तुलसीपुरमा लाग्ने भनिएको मेला रोक्नुपर्ने दवाव दिएका छन् ।

उनीहरुले बहिरा संघको मेला ठेक्कामा जाने र ठूलो रकम तेस्रो पक्षले यहाँबाट संकलन गर्ने योजनामा रहेको समेत प्रष्ट भएको हुँदा आफूहरु जुनसुकै हालतमा पनि मेला रोक्न लागिपर्ने चेतावनी समेत दिएका छन् । यता तुलसीपुर उद्योग वाणिज्य संघले पटक–पटकको छलफलमा राप्ती वहिरा संघलाई आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएको संघका निवर्तमान अध्यक्ष विमल रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मेला महोत्सव भन्दा अन्य सिर्जनात्मक काम गर्नुहोस्, हामी वहिरा संघको भवन निर्माण गर्दा सहयोग गर्न तयार छौं । भवन निर्माणमा व्यवसायीहरुको पूर्ण सहयोग रहने र मेलाबाट आउने रकम भन्दा बढी रकम हामीहरु समेतले प्रदान गर्नेछौं ।’

बैठकमा संघका पूर्व अध्यक्ष हेमन्तकुमार रिजालले नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघ बीच मेला महोत्सव सञ्चालनमा स्थानीय उद्योग वाणिज्य संघको अनुमति अनिवार्य हुनुपर्ने लिखित सम्झौता भएको भन्दै राप्ती बहिरा संघलाई मेला महोत्सव गर्ने कुनै अनुमति र आधिकारिकता नभएको प्रष्ट पार्नुभयो । बैठकमा व्यवसायीहरु नरेशराज भण्डारी, विमल पौडेल, कानूनी सल्लाहकार प्रविण लम्साल, उपाध्यक्ष ललित जंग शाह, मिनराज भण्डारी, रुपेश शर्मा, निर्मल पौडेल, सचिन पौडेल, यज्ञबहादुर केसी, दुर्गाप्रसाद भुसाल, वसन्तकुमार खड्गी, तिर्थबहादुर डाँगीलगायतले बोल्नुभएको थियो ।

यस अघि तुलसीपुर उद्योग वाणिज्य संघमा गठित विभिन्न २१ वटा उपसमितिहरुले लिखित रुपमा तुलसीपुरमा ह्ुन लागेको महोत्सव रोक्न वाणिज्य संघमा ज्ञापन पत्र बुझाएका छन् । महोत्सव रोक्न व्यवसायीहरु धर्ना, आमहड्ताल र बैधानिक बाटोको अवलम्वन समेत गरी कुनै पनि क्लव र संघसंस्थाले व्यापारिक महोत्सव लगाउन नपाउने हुँदा त्यसको खुलेर बिरोध गर्ने व्यवसायीहरुले बताएका छन् ।

महोत्सव रोक्न आम व्यवसायीहरुले व्यापक दवाव दिएपछि तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव रोक्नुपर्ने भन्दै स्थानीय निकाय तुलसीपुर उपमहानगरपालिका, पाँच नम्वर वडा कार्यालय, तुलसीपुर नगरविकास समिति र जिल्ला प्रशासन कार्यालय दाङमा पत्राचार समेत गरिएको संघका महासचिव रुपबहादुर खत्रीले जानकारी दिनुभयो ।


Gorkha Hospital Dang