Smiley face
इतिहासको कठघरामा पुस सत्ताइस ! – ।।दाङ खबर।।
Smiley face

Home / ब्लग/विचार / इतिहासको कठघरामा पुस सत्ताइस !

इतिहासको कठघरामा पुस सत्ताइस !

काठमाण्डौ, पुस २७ । आज पृथ्वीनारायण शाहको २६९ औँ जन्मजयन्ती । वि.सं. २०६२÷०६३ को जनआन्दोलन अघिसम्म राष्ट्रिय एकता दिवसको नाममा सार्वजनिक बिदा दिएर सरकारी तवरमै पुष २७ गते पृथ्वी जयन्ती मनाइन्थ्यो ।

दोस्रो आन्दोलनपश्चात् राजतन्त्रको समाप्तीसँगै यो दिनमा सार्वजनिक बिदा दिन छोडियो । केही राजावादी शक्तिहरूले चैँ सार्वजनिक बिदा दिनुपर्ने मागसहित् राष्ट्रिय एकता दिवसकै नाममा पुस २७ लक्षित कार्यक्रमहरू गरिरहे ।

बाह्र वर्षपछि खोलो फर्किन्छ भनेझैँ पुस २७ गते सार्वजनिक बिदा दिन छोडेको १२ वर्षपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले यसपालीदेखि आजको दिनलाई सार्वजनिक बिदा घोषणा गर्दै राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।

यो निर्णयसँगै आज सरकारी तवरमै पृथ्वी जयन्ती मनाइयो । सिंहदरबारको पश्चिम गेटअगाडि आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्दै पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरियो ।

यससँगै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकै रूपमा मनाउनुपर्छ र यो दिन सार्वजनिक बिदा दिइनुपर्छ भनेर माग गर्दै आइरहेका व्यक्ति तथा संस्थाहरू त खुशी छन् नै, यसबाहेकको बौद्धिक तप्का भने सरकारको यो निर्णयसँग असहमत छन् ।

बिहीबारको बिहान ट्वीट गर्दै लेखक तथा युग पाठकले लेखेका छन्, ‘म पृथ्वीनारायणलाई टाउकोमा बोकेर हिँड्न तयार छैन, म्युजियममा राखेर अध्ययन गर्न इच्छुक छु । कुनै शासकले कुनै दिन कुनै लडाईं जित्नुको महिमागान भन्दा आम जनताले निर्माण गरेको इतिहासको उत्खनन् आजको जरुरी काम हो ।’

अर्को ट्वीटमा उनी थप लेख्छन्, ‘२०६२÷६३ को आन्दोलनमा श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’ सडकसडकमा चर्चित थियो । त्यो कवितामा पृथ्वीनारायणसँग बिसे नगर्चीले दाँजिएर आफ्नो इतिहास खोज्छ । त्यतिबेला त्यो कविताको उपयोग गर्ने नेता, बुद्धिजीवी अहिले पृथ्वीको गुणगानमा किन फर्केको ? बिसेले अब काम चल्न छाडेर ?’

यस विपरीत लामो समयदेखि पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्ने माग गर्दै अभियानमा लागेका पूर्वमन्त्री मोदनाथ प्रश्रित यो वर्ष यस दिवसमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति लगायत सरकारका उच्च ओहोदाका व्यक्तिको उपस्थिति भएकामा खुशी हुँदै भने, ‘गत वर्ष यही दिवसका अवसरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा पनि प्रहरीले अभद्र व्यवहार गथ्र्याे, अहिले आनन्दका साथ मनाउन पाइयो, हामी सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।’

गत पुस २२ गते यसै सन्दर्भमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पनि प्रश्रितकै धारलाई समर्थन गर्दै भनेका थिए, ‘पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई हामी अत्यन्त सकारात्मक ढंगबाट लिन्छौँ र त्यसलाई सम्मान गर्छौं, यो हाम्रो अडान हो, इतिहासलाई सम्मान गरेर मात्रै अघि बढ्न सक्छौं । इतिहासको सम्मान गर्न नचाहनेले आफ्नै भविष्य समाप्त पार्छ भन्ने हाम्रो बुझाई हो ।

यसरी परस्परविरोधी कित्तामा लेखक, विश्लेषक तथा राजनीतिकर्मी लगायतको बौद्धिक जगत बाँडिदा पुस २७ को सान्दर्भिकता सन्देहको घेरामा छ । दोस्रो जनआन्दोलनको भावनालाई समेट्दै सरकारी तवरबाट राष्ट्रिय एकता दिवसको नाममा मनाउन बन्द गरिएको पृथ्वी जयन्ती यसपालीदेखि मनाउन थालिएसँगै यसले अनन्त बहस र प्रश्नहरूको निर्माण गर्ने सम्भावना बढेर गएको छ ।

फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जालहरूमा आज यसको पक्ष र विपक्षमा विभिन्न खालका टीप्पणी र प्रतिक्रियाहरू आइरहेको छ । समग्रमा यसपालीको पुस २७ ले यो दिनलाई फेरी एकचोटी इतिहासको कठघरामा उभ्याएको छ ।


Gorkha Hospital Dang