Smiley face
प्रहरी जवानको पीडाः मुस्किल छ मुस्कान – ।।दाङ खबर।।
Smiley face

Home / जीवन शैली / प्रहरी जवानको पीडाः मुस्किल छ मुस्कान

प्रहरी जवानको पीडाः मुस्किल छ मुस्कान

पुस १८ । नेपाल प्रहरीले मुस्कानसहित सेवा दिने भनी प्रचार र तालिम थालेको धेरै भयो । यो अभियानले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि ध्यान नखिचेको होइन । र, प्रहरीलाई मित्रवत बनाउन ६ सय मुस्कान प्रशिक्षक पनि खटाइयो ।

‘मुस्कानसहितको सेवा’ अभियान नै थालियो । प्रहरी नागरिक मैत्री बन्न खोज्नु राम्रो हो । तर, तालिमले मात्रै ओठमा मुस्कान छाउँछ भन्नु भ्रम थियो । कहाँ चुक्यौं त हामी ? यो आलेखमा प्रहरीको मुस्कान निर्धारण गर्ने तत्वलाई फरक कोणले हेर्न खोजिएको छ ।

प्रहरीले मन्द मुस्कानका साथ ड्युटीमा खटिनुपर्छ भनी काठमाडौं र मोफसलमा तालिम भइहे । तर, राजधानीभित्रकै बिटका जवानहरुको बसाइ र सुविधा उदेकलाग्दो थियो । ओभरटाइम ड्युटी गर्दा निद्रा नपुगेका क्रान्तिविहीन आँखाहरु अर्को बिहानको काम गर्न तयार रहनुपथ्र्यो ।

प्रहरी जवानका शयनकक्ष र मेस अझै पनि धेरै स्थानमा दयालाग्दा छन । प्रहरीलाई मानवअधिकार सम्मानका लागि पर्याय संस्था मानिन्छ । तर, प्रहरीभित्रै पनि आधारभूत अधिकारको अभाव खड्किएको देखिन्छ । यो सरासर जवानहरु माथिको श्रम शोषण हो भन्न हच्किनु पर्दैन ।

सुताइ, निद्रा र आरामको अभावमा प्राकृतिक मुस्कान त परै जाओस, प्रहरी जवानले बिहान व्यायाम पनि गर्न पाउँदैनन । दैनिक व्यायाम कति हुन्छ भन्ने प्रश्नको जवाफमा जवानहरुबाट हाँसोको फोहोरा छुट्छ, ‘सुत्ने समय त पुग्दैन, व्यायाम कतिखेर गर्ने सर ?’

अब सोचौं सामान्य प्रहरी जवानले शरीरको कुन शीरा र धमनीबाट मुस्कानको सञ्चार गराई अनुहार उज्यालो बनाओस ?

जवानलाई त परै छोडौं, सुरक्षासम्बन्धि अपडेट रहन अधिकृतहरुलाई पनि इन्टरनेटको व्यवस्था छैन । यो त अलि विलासी सुविधा नै लाग्न सक्ला कतिलाई । तर, अहिलेको युगमा बिनाइन्टरनेट सबल सुरक्षा अधिकृतको कार्यालय कल्पना गर्नु हास्यास्पद हुन्छ । त्यसभन्दा पनि अघि बत्तिको कुरा गरौं ।

पूरै मुलुकले लोडसेडिङ भोगिरहँदा प्रहरी त कसरी अपवाद थियो र । तर, कतिपय एकाइले निजी क्षेत्रको सहयोगमा इन्भर्टर राखेका थिए । प्रहरी कार्यालयमा हुने सोफादेखि टेलिभिजनसम्म निजी व्यापारीले दिएका उदाहरण मुलुकका थुप्रै जिल्लामा देख्न सकिन्छ ।

यस्तो हुँदा ती दाताबाट आउने अन्य अनुरोध वा दबाबले प्रहरीको निष्पक्ष कार्यसम्पादनमा असर नपार्ला भन्न सकिन्न । उस्तै हालत छ, सञ्चारको । कति ठाउँमा ल्यान्डलाइन फोनसम्म छैन । मोबाइल दिइन्छ तर रिचार्जको जोहो ‘मिलाएर गर्नू’ भनिन्छ ।

त्यो ‘मिलाउने’ भनेको के हो ? जगजाहेरै कुरा हो । स्वच्छ खानेपानीको उस्तै समस्या छ र समस्या छ नुहाउने पानीको पनि । हुन त, यो मुलुकले नै भोगेको पीडा हो तर देशकै सुरक्षाका लागि राखिएका जवानहरु बारेचाहीं अलि छिट्टै सोच्नुपर्ने हो कि ?

यतिपछि सजिलै थाहा हुन्छ, महिला प्रहरीको झन कुन बेहाल छ । पुरुषहरु त ठाउँ बाँडेर ब्यारेकमै सुत्छन । ब्यारेकमा ठाउँ नहुने महिलाहरु ड्युटी सकेर राति–राति डेरा फर्किनुपर्ने अवस्था छ । धेरै राति हुँदा कहिले त तिनैलाई सुरक्षाको डर हुन्छ । दैनिक जीवनका अन्य धेरै कुरामा ब्यारेकहरु महिलामैत्री छैनन । सुरक्षा निकायमा लैंगिकता, अनुशासन, दक्षताजस्ता विषयगत कुरा सफ्टवेयरमै मात्रै केन्द्रित देखिन्छन ।

प्रथमतः सुरक्षाकर्र्मीलाई चाहिने भौतिक कुरा हार्डवेयर प्राथमिकता बन्न छोड्नु सुखद् संकेत होइन । नेपालमा प्रहरी सुधारलाई भनेर विदेशी मुलुकका कोषबाट लगानी बर्साइएको छ । तर, परिणाममा सफलताको वर्षा कसरी हुन सकेन, आश्चर्यकै कुरा हो ।

मुस्कान प्राकृतिक कुरा हो । मुस्कानले मुस्कानकै अर्थ दिन शरीरका दशौं तन्तु चलायमान हुनुपर्छ । ओठदेखि मस्तिष्कसम्मै ओज भरिनुपर्छ । अनि, बल्ल आउँछ, वास्तविक मुस्कान ।

कतिपय प्रहरी ब्यारेकमा जवानहरुलाई खाना खाने राम्रो ठाउँ छैन । मेसमा उभिएर खानुपर्ने अवस्था छ, बस्न पाइँदैन । दैनिक ८ घण्टाको काम र ड्युटी हुने हो । तर, प्रभाग वा वृत्त हेरी १६ देखि १८ घण्टासम्म खटिनुपर्ने बाध्यता छ ।

जवानहरु एउटै सानो खाटमा दुई जना सुत्नुपर्ने अवस्था छ । घरपरिवार भेट्नु उस्तै हो, भएको ३० दिन घरबिदा पनि सबै लिन पाइँदैन । यस्तो अनिँदो, कामको चाप र परिवार साथमा हुन नपाउनुको अर्को पीडाले घोचिएर प्रत्येक जवान फेरि नयाँबिहानीमा उठ्छ । अनि, सरकारले लगाएको मुस्कानको ह्विप पूरा गर्न फिस्स हाँसो निकाल्दै लौरो समाएर ड्युटीमा खटिन्छ ।

अलि माथिल्ला अधिकृतलाई केही राहत होला तर सजिलो छैन जवानलाई, प्रहरीकारिता ।

प्रहरी सुधारका धेरै मनचिन्ते योजना आए । छिट्टै ठूलै परिवर्तन देखिने सुगा रटाइ पनि भइरह्यो । काममै रमाउने भनेर त दरबारमार्गमा ट्राफिक प्रहरीले नाच्न पनि थालेकै हुन । केही वर्षअघि प्रहरी प्रवक्ताले एक अन्तर्राष्ट्रिय समाचार संस्थालाई अबदेखि नेपालका ‘लगभग सबै प्रहरी स्टेसनमा योग व्यायामको कक्षा चलाइने’ जानकारी पनि दिएकै हुन ।

आखिर ती कार्यक्रम समाचारका लागि लोकप्रिय बने तर दिगो किन बनेनन ? जनताको नजरमा यस्ता कार्यक्रम के ठहरिए ? यो प्रहरीको दोष होइन ?

नेपाल प्रहरी नयाँ–नयाँ नेतृत्वले विचित्रका उपाय परीक्षण गर्ने प्रयोगशाला होइन । सुधार नै गर्ने हो भने संरचनागत तहबाटै थाल्नुपर्छ । तर, संगठनको नेतृत्वमा आदर्शको खडेरी छ । ०४६ सालको परिवर्तनपछि यो निकायमा दर्जनभन्दा बढी महानिरीक्षक आए । तीमध्ये आधाभन्दा धेरै भ्रष्टाचारका कारण कलंकित छन ।

नेपाल प्रहरी सुधारलाई भनेर विदेशी मुलुकका कोषबाट लगानी बर्साइएको छ तर परिणाममा सफलताको वर्षा कसरी हुन सकेन, आश्चर्यकै कुरा हो

स्थापनाको ५९ वर्ष भयो, व्यावसायीकरण अझै हुन सकेको छैन । सुरक्षा विज्ञानको परिभाषाअनुसार प्रहरी हतियारमुखी नभई अनुसन्धान र सेवामुखी निकाय हो । नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने हुँदा नागरिकप्रति यसले गर्ने व्यवहार महत्वपूर्ण हुन्छ ।

त्यसैले मुस्कानको महत्व छ तर मुस्कान खोकीजस्तो बल गरेर आउने चिज होइन । ओठ मिलाउँदा मुस्काएजस्तो देखिएला तर अप्राकृतिक मुस्कानले न सेवादाता खुशी हुन्छ, न त सेवाग्राही ।

यसरी नेपाल प्रहरीलाई मुस्कुराउन नै निरुत्साहित पार्नु यस आलेखको उद्देश्य होइन । तर, प्राकृतिक मुस्कानका लागि चाहिने पूर्वशर्तबारे विचार गरौँ भन्ने आग्रह हो ।

हँसिलो मुखले सेवा दिने कुरा चल्नेबित्तिकै पंक्तिकारलाई ‘एअर होस्टेस स्माइल’को याद आउँछ । यो पदावली निकै गम्भीर छ । विमान परिचारिकाहरुलाई आदेश नै हुन्छ, यात्रुसँग मुस्कुराउनु । त्यसैले तनावमा होस, कामको चापमा, शारीरिक थकानमा होस या मनले नै नमानोस, उनीहरु यात्रुको अघिल्तिर मुस्कुराउनै पर्छ ।

यात्रु छायामा पर्नेबित्तिकै सुस्केरा हाल्दै लामो सास फेर्न पनि पछि पर्दैन । त्यसैले किन–किन विमान परिचारिकाका मुस्कान कृत्रिम हुन्छन । नेपाल प्रहरीले हाँस्ने भनेको यस्तो औपचारिकताको लागि मात्रै होइन, कार्यसम्पादन र नागरिक सम्बन्ध चुस्त बनाउन हो । प्रहरीलाई हँसिलो बनाउन लोकप्रिय देखिने योजनाले मात्रै पुग्दैन, मुलुकले धान्न सक्ने गरी पूर्वाधार पनि जुटाइनुपर्छ ।


Gorkha Hospital Dang