Home / दाङ विशेष / बाम एकता इतिहासको माग होः महरा
rapti Bheri Bikash Bank

Rahul Traders Dang

बाम एकता इतिहासको माग होः महरा

दाङ, कार्तिक २८ गते । उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपालमा बाम एकता इतिहासको माग भएको बताउनुभएको छ । दाङको बिजौरीडाँडामा आयोजत चुनावीसभालाई सम्वोधन गर्दै उहाँले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र इतिहासको माग भएको बताउनुभएको हो ।

दाङ क्षेत्रनम्वर २ का उम्मेदवार महराले समृद्ध नेपालका लागि समृद्ध दाङ आफूहरुको अभियान भएको बताउनुभयो । प्रदेश राजधानी चुनावपछि बन्ने सरकारले घोषणा गर्ने जानकारी दिंदै उहाँले पाँच नम्बर प्रदेशको राजधानी दाङ नै हुने ठोकुवा गर्नुभयो । आफू चुनावी अभियानमा जाँदा मतदाताले जितेपछि फर्केर आउनुहुने होइन कि भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘२०६४ सालमा राम्रो संविधान बनाउँछु भनेर भोट मागेको थिएँ, त्यसपछि म संविधान निर्माण र शान्ति प्रक्रियाको केन्द्रीय राजनीतिमा भूमिका निर्वाह गरेकाले जिल्लामा कम आएको साँचो हो, अब म ढुक्कका साथ यही रहेर काम गर्नेछु ।’

प्रदेश राजधानी बनाइसकेपछि यहाँको विकासका लागि डटेर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आफूले अर्थमन्त्री हुँदा दाङको विकासमा ५ अर्ब बजेट पठाए पनि ठेकेदार सही नहुँदा अहिले बाँदरको हातमा नरिवलजस्तो भएको टिप्पणी गर्नुभयो । दाङको विकास गरेर मात्रै प्युठान, रोल्पा, सल्यान र रुकुमको विकास हुनसक्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा दाङ क्षेत्रनम्वर २ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार अमरबहादुर डाँगीले आफूहरुले गुरुयोजना बनाएर विकास गर्ने बताउनुभयो । आफू यसअघि पनि नगरपालिकामा जनप्रतिनिधि भइसकेकाले जनताको चाहना बुझेर बाम गर्ने क्षमता आफूमा भएको बताउनुभयो । उहाँले घोराही–आँखा अस्पतालको सडक कालोपत्रे गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।