Smiley face
रोकिएन अबैध अमेरिका प्रबेश, दाङ, नवलपरासी र कपिलवस्तुका ३ नेपाली मेक्सीकोमा अलपत्र – ।।दाङ खबर।।
Smiley face

Home / दाङ विशेष / रोकिएन अबैध अमेरिका प्रबेश, दाङ, नवलपरासी र कपिलवस्तुका ३ नेपाली मेक्सीकोमा अलपत्र

रोकिएन अबैध अमेरिका प्रबेश, दाङ, नवलपरासी र कपिलवस्तुका ३ नेपाली मेक्सीकोमा अलपत्र

दाङ, कार्तिक १४ । अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन नीतिका कारण अलपत्र परेका ३ सय नेपालीमध्ये केही अझै मेक्सिकोमै छन् । बल्लतल्ल अमेरिका छिरेर चार महिनाको जेल बसाइपछि राहदानी बनाउन असोज पहिलो साता दूतावास आएकाहरूले मेक्सिकोमा अझै नेपाली अलपत्र रहेको जानकारी दिएका हुन् ।

तर मेक्सिको सरकारले भने आफ्नो देशको जेलमा कुनै पनि नेपाली नरहेको जानकारी नेपाली दूतावासलाई दिएको छ । ‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कुनै पनि नेपाली आफ्नो देशको जेलमा छैनन् भनिएको छ,’ नेपाली दूतावासका एक अधिकारीले भने ।

अमेरिकाको न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चार नेपालीको व्यथा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि सुने । आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं । दुस्ख निकै पाइयो । धेरै पैसा खर्च भयो ।

दलालहरूले सुरुमा सपना बाँड्छन्, रकम पनि थोरै (२०र२५ लाख) भन्छन् अनि बीच बाटामा पुगेपछि माग गर्दै जान्छन्, सुरु रकमको दोब्बर बढी तिरिसक्यौं ।’ उनीहरू दाङ, नवलपरासी र कपिलवस्तुका हुन् ।

उनीहरूले आफूहरूले ४५ लाखभन्दा बढी खर्च गरेर आएको उल्लेख गर्दै आफ्नो नाम र तस्बिर सार्वजनिक नगर्न आग्रह गरे । ‘दक्षिण अमेरिकी मुलुकको घना जंगल, समुद्र पार गर्दै ड्राइफुट र समुद्रकै पानी खाएर यहाँ आइपुगेका हौं,’ उनीहरूले भने, ‘कैयन् विदेशीले पनि आफूलाई नेपाली भनेर परिचय दिँदारहेछन् । तर हामी ९ जना मात्र थियांै । पाँच जना डीसीमा रहेको दूतावासमा धाइरहेका छन् । हामी न्युयोर्कमा आइपुग्यौं ।’

महराले उनीहरूको कुरा उभिएर सुन्दै भने, ‘यसमा हामीले के गर्न सक्छौं ?’ उनको जिज्ञासामा दूतावासका एक अधिकारीले भने, ‘प्रहरी प्रशासनले मात्र रोक्न सक्छ । आइपुगेकालाई अमेरिकी सरकारले बुझाएर फर्काउनु भनेको उनीहरूलाई मात्र होइन, घरपरिवारलाई समेत धोका दिनु हो । ७५ लाखसम्म खर्च गरेका भेटेका छौं । अरू काम उनीहरूले गर्लान्, हामी पासपोर्ट र डकुमेन्टमा सहयोग गरिदिन्छौं ।’

वासिङ्टन डीसीस्थित दूतावासमा पनि यस्ता धेरै नेपाली भेटिएका थिए । ‘राम्रै पढेका र बुझेकै नेपाली पनि यसरी आएको जानकारी दूतावासमा छ । समस्यामा परेका नेपालीलाई उद्धार गर्ने हो । अवैधानिक रूपमा आएकाहरूको खोजी गर्ने र बुझ्ने काम गरिरहेका छांै,’ राजदूत डा. अर्जुनकुमार कार्कीले भने, ‘हामीले दक्षिण अमेरिकी मुलुक र अमेरिकासँग सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने, डाटा राख्ने र पीडितहरूको समस्या फुकाउने काम गरिरहेका छौं ।’

कार्कीले दक्षिण अमेरिकी मुलुकमा ओहदाको प्रमाणपत्र बुझाउन जाँदा पनि यो अवस्थाबारे बुझेका थिए । त्यसरी प्रवेश गर्नेहरूसँग कुनै कागजात नहुने हुनाले नेपाली भन्ने पहिचानका लागि दूतावास आउने गरेका हुन्छन् । ‘लाखौं रकम हामीले दलाललाई खुवाएर आयौं, अब बाँकीलाई खुवाउन थालिएको छ । कति चुस्छन्, थाहा छैन,’ थापामगर थरका एक युवाले भने, ‘यहाँ विदेशी वकिलसँग हाम्रो सम्पर्क हुन सक्दैन । नेपाली वकिलले जति भन्यो, त्यति दिनुपर्छ, नत्र लड्दैनौं भन्दारहेछन् ।’

अमेरिकाका कतिपय वकिल यस्तै नेपालीको अध्यागमन मुद्दा हेरेर जीवन गुजारा गरिरहेका छन् । २३ महिना लगाएर अमेरिका छिरेका दाङका सुनार थरका युवा न्युयोर्क्स्थित महावाणिज्य दूतावासमा भेटिए । उनले भने, ‘हामीले विदेशी एजेन्टले चुसेको भोग्यौं । अब नेपाली तथा भारतीय वकिलले कति चुस्छन्, हेर्दै जाऊँ ।’ जतिसुकै दुस्ख गरेर आए पनि अब केही वर्षमा ऋण तिर्ने र बाँकी जीवन सहज हुनेमा उनीहरू आशावादी देखिए । जागिर नपाएपछि सुरक्षित भविष्यको खोजीमा घरबाट अंश मागेर जग्गा बेचेर आएको उनीहरूले बताए ।

कोरियामा काम गरेर जम्मा गरेको रकम खर्चेर अमेरिकाको त्यो बाटो तय गरेका नवलपरासीका पौडेल थरका एकले भने, ‘हामी मेक्सिकोमै आएर पनि चार महिना अलपत्रझैं भयौं । नत्र मेक्सिको पसेपछि अलपत्र पर्ने अवस्था यसअघिका साथीहरूको थिएन ।’ पछिल्लो समय अमेरिकाका विभिन्न जेलमा नै दुई दर्जनभन्दा बढी नेपाली रहेको र कैयन् नेपाली खुट्टामा चिप्स रहेको ब्यान्ड लगाएर दूतावास, अध्यागमन र वकिलकहाँ धाइरहेका छन् । उनीहरूले काम पनि गरिरहेका छन् ।

कुनै पनि अपराधमा नरहेकालाई अमेरिकी अध्यागमनले खासै चासो राख्दैन । ‘११ महिना लामो कष्टकर यात्रा, ४७ लाख दलाल खर्च, मेक्सिको सीमा काटेपछि चार महिना अमेरिकी जेल भोगेर पासपोर्ट बनाउन आएकी एक बहिनीको कथा,’ महावाणिज्यदूत मधु मरासैनीले आफ्नो ट्वीटरमा यस्तो लेख्दै एक महिलाले पाएको दुस्ख सुन्दा आँसु नै आउने उल्लेख गरेका छन् । उनले महरालाई आफ्नो महावाणिज्य दूतावास देखाउन ल्याउँदा पनि यस्तै युवा राहदानीका लागि आवेदन दिन आएका थिए ।

नेपालीहरू तान्जानिया, केन्याबाट दक्षिण अमेरिकाका विभिन्न मुलुक हुँदै मेक्सिको पुगेपछि अमेरिका छिर्ने गरेका छन् । यो मार्गलाई क्युबियन रुट पनि भनिन्छ । कतिपयले सेटिङ मिलाएर दिल्लीबाट भिसा लिएर मेक्सिको आउने र त्यहाँबाट अमेरिका प्रवेशको दाउ हेर्ने गरेको पनि बताइएको छ । पानामा, निकारागुवा, होन्डुरस, कोलम्बियालगायत मुलुकका जेलमा नेपाली खाली हुँदैनन् ।

नेपालीसँग मिल्दोजुल्दो अनुहार भएका विदेशीले पनि नेपाली भन्दै आउने गरेका छन् । भुटानी, फिजी, मरिसस, भारत, मलेसिया र बंगालीलगायतले नेपाली भनेर परिचय दिने गरेको र कतिले त नेपाली राहदानी नै बोकेर आउने गरेको जानकारी दूतावासलाई आएको छ ।


Gorkha Hospital Dang