Home / ब्लग/विचार / बाबुरामलाई गिरफ्तार गरी प्रचण्डले कसरी राखे रोल्पाको जेलमा ?
rapti Bheri Bikash Bank

Rahul Traders Dang

बाबुरामलाई गिरफ्तार गरी प्रचण्डले कसरी राखे रोल्पाको जेलमा ?

अहिले बाबुराम भट्टराईको एमाले र माओवादी केन्द्रसँग पार्टी एकताको उद्देश्यसहितको वाम तालमेलमा आकस्मिक प्रवेश र बाबुरामलाई गोरखाबाट चुनाव लड्ने गरि एमाले तथा माओवादी केन्द्रले सिट सुरक्षित नगरेपछि वाम एकताबाट उनको वहिर्गमनका बारेमा चर्चा छ । गत स्थानीय चुनावमा बाबुरामको नयाँ शक्ति पार्टीको शर्मनाक पराजयपछि केन्द्रिय संसदको आगामी चुनावमा बाबुराम एक्लै उठेमा नजित्ने पक्का भएको स्थितिले गर्दा आफु जित्नका लागि सूर्य चिन्ह लिने, पुनः कम्युनिष्ट बनेर एमाले माओवादी केन्द्रसहितको नयाँ कम्युनिष्ट पार्टीमा आफ्नो नयाँ शक्ति पार्टी पनि विलय गराउने आदि सहमतिसहित सभागृहको संयुक्त पत्रकार सम्मेलनमा बाबुरामले लालसलाम भन्दै मुठ्ठी उचालेका थिए ।

तर प्रचण्डले नारायणकाजीको गोरखा २ नम्बर क्षेत्रमा उठ्ने अडानलाई समर्थन गर्दै बाबुरामलाई त्यो क्षेत्र नदिने निर्णय सुनाएपछि बाबुराम भाँडिएर वाम एकताबाट अलग भई एक्लै चुनाव लड्ने घोषणा गर्न पुगेको बताइन्छ । भनिन्छ कि धोवीघाट गठवन्धन गरी नारायणकाजीसँग मिलेर प्रचण्डलाई एक्लो पारेका बाबुरामलाई सोही नारायणकाजी प्रयोग गरेर प्रचण्डले यसपटक बदला लिए । सायद बाबुराम र नारायणकाजी दुवै सो क्षेत्रबाट उठेमा दुवैले हार्ने सम्भावना छ । यसो भएमा धोवीघाट गठबन्धनको वदला प्रचण्डले नारायणकाजीसंग पनि लिएको देखिने छ ।

प्रचण्ड–ाबुरामको कहिले एकता र कहिले संघर्षको यस्तो सम्बन्ध जनयुद्धकालमा चरम सीमामा पुगेको थियो । यी दुईको सम्बन्धमा एकपटक यस्तो समय पनि आयो कि बाबुरामले भारतीय गुप्तचर एजेन्सीको सहयोगमा भारतमा प्रचण्डलाई गिरफ्तार गराउने षदयन्त्र गरेको आरोप प्रचण्डले लगाउन पुगे भने प्रचण्डले पनि बाबुरामलाई जनसेना प्रयोग गरि गिरफ्तार गरेर रोल्पामा ‘हाउस अरेष्ट’मा राख्ने स्थिति बन्यो र बाबुरामले आफूलाई प्रचण्ड र उनका समर्थकहरू ले झण्डै मार्न खोजेको आरोप पनि खुल्ला रुपमा लगाउन पुगे । त्यसबेलाको यथार्थता के थियो त ? के प्रचण्डले बाबुरामलाई गिरफ्तार गरि हाउस अरेष्टमा राखेकै थिए ? के प्रचण्ड र उनका समर्थकहरू ले त्यो बेला बाबुरामलाई मार्न खोजेकै थिए ? केही तथ्यहरू यस्ता छन् ।

बाबुरामले भारतको गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेटघाट नियमित रुपमा गर्ने गरेको तथ्य प्रचण्डले हामीलाई ०६० माघ २५ गते मातृका यादव र सुरेश आले लगायतका नेताहरूलाई भारतले गिरफ्तार गरि नेपाल सरकारलाई बुझाइदिएपछि भन्न थालेका थिए । त्यस गिरफ्तारीका दिन झण्डै प्रचण्ड पनि दिल्लीमा गिरफ्तारीमा परेका थिए । ०६० चैत्र १६ गते मोहन वैद्य (किरण) लाई पनि भारत सरकारले गिरफ्तारी गऱ्यो । यस घटनापछि प्रचण्डले हामीलाई के भन्न थाले भने बाबुरामले नियोजित रुपले भारतीय गुप्तचर प्रमुखसंग मिलेर यस्ता घटना गराउन थालेको हुन सक्छ र अब बाबुराम भारतका मान्छे बनिसकेका छन् र बाबुरामवाट अब सतर्क हुनु पर्दछ । साथै भारतले बाबुरामलाई प्रयोग गरेर माओवादी आन्दोलनलाई भारतीय लाइनमा अर्थात भारतीय स्वार्थमा प्रयोग गर्ने खतरा बढ्न थालेको छ भन्ने मत पनि प्रचण्डले हामीसंग राख्न थालेका थिए, जुन कुरा हामीले केही समय पहिलेदेखि भन्दै आएका थियौँ, त्यसमा प्रचण्ड सहमत हुन थालेका थिए । केही समयपछि नै फेरि ०६१ जेष्ठ २० गते भारतको पटनावाट लोकेन्द्र विष्ट लगायतका ११ जना नेताहरू लाई भारत सरकारले गिरफ्तार गऱ्यो ।

यस पटना काण्डपछि बाबुरामलाई कारवाही गर्न पर्ने माग पार्टीमा चौतर्फी रुपले उठ्यो । पटना गिरफ्तारीको विषयमा पार्टीभित्र छानवीन आयोग पनि बन्यो । पटना गिरफ्तारीमा परेका नेताहरूले बाबुरामले नै सो घटना गराएको भन्दै बाबुराम र उनका समर्थक केही नेतालाई कारवाहीको माग गरेर पार्टीमा पत्र पठाए । पटना जेलमा रहेका भारतीय कम्युनिष्ट कार्यकर्ताहरू को सहयोगमा ती पत्रहरू पार्टीमा आइपुगेको थियो । रुकुमका केन्द्रिय नेता लोकेन्द्र विष्टमगर र रोल्पाका केन्द्रिय नेता कुलप्रसाद केसी (सोनाम) लगायत पटना गिरफ्तारीमा परेको हुनाले रुकुम रोल्पा जस्तो मुख्य आधार क्षेत्रका नेता कार्यकर्ता र जनतामा समेत पनि आक्रोस व्याप्त थियो त्यो बेला । साथै मोहन वैद्य लगायतका केन्द्रिय नेताहरू पनि गिरफ्तार गरेकोले भारत र भारत समर्थक तथा भारतीय गुप्तचर निकायका प्रमुखसंग समेत नियमित भेटघाट सम्पर्कमा रहेका बाबुराम माथि कारवाहीको लागि केन्द्रमा दबाब बढ्दै गयो । प्रचण्ड स्वयम्लाई पनि गिरफ्तार गर्न खोजेको भन्ने बदलाको भावना प्रचण्डको मनभित्र भरिएकै थियो ।

यही परिवेशमा ०६१ श्रावण २४ देखि भाद्र १ गते सम्म रोल्पाको थवाङनजिकको फुन्टिवाङ गाउँमा भएको केन्द्रिय समितिको वैठकमा बाबुरामको भारतपरस्त चरित्र र गतिविधिहरूका विरुद्ध अत्यधिक बहुमत केन्द्रिय सदस्यहरूले आलोचना गरे तथा कयौँले कारवाहीको समेत माग गरे । यस बैठकमा बाबुरामले आत्मालोचना गरेको हुनाले गम्भीर कारवाही गरिएन र बाबुराम संयोजक रहेको केन्द्रिय जनपरिषदबाट मात्र बाबुरामलाई हटाएर पार्टी, जनसेना र जनसरकार अर्थात केन्द्रिय जनपरिषदको प्रमुख पनि प्रचण्ड नै बनाउने गरि निर्णय भयो । तर यसको घोषणा भने उपयुक्त समयमा स्थायी समितिले गर्ने निर्णय भयो । त्यस बैठकमा बाबुरामले यो निर्णयको विरोध गरेनन् । तर केही महिनापछि बाबुरामले ०६१ कार्तिक २६ गते ४ बुँदे पत्र लेखेर यस निर्णयको तीब्र विरोध गर्दै जनपरिषद संयोजकमा प्रचण्डलाई पनि नराखी तेश्रो व्यक्तिलाई राख्ने प्रस्ताव राखे । यसपछि बाबुरामले पार्टीवाहिर तथा भित्र जथाभावी रुपमा पार्टी लाईन र नेतृत्व विरुद्ध गुटबन्दी गर्न थाले ।

यो क्रम बढ्दै गएपछि ०६१ माघमा रुकुम जिल्लाको लावाङमा भएको पोलीटब्युरोको बैठकले बाबुराम, हिसिला यमी र दिनानाथ शर्मालाई पार्टीको सबै निकायबाट हटाउने निर्णय ग¥यो । पार्टीबाट कारवाहीमा परेपछि बाबुरामलाई देशवाहिर भारतमा जान नदिने तथा रोल्पा वा रुकुमतिरै राख्ने निर्देशन प्रचण्डले दिए । जनसेनाको एक विशेष प्लाटुनले बाबुरामलाई विशेष निगरानीमा राख्ने व्यवस्था मिलाउने निर्देशन प्रचण्डले दिए र त्यस अनुसार डिभिजन कमाण्डर पासाङ (हाल उपराष्ट्रपति)ले व्यवस्था मिलाए । बाबुराम र हिसिलालाई रोल्पाकै एक गाउँमा विशेष निगरानीसहित हाउस अरेष्टमा राख्ने काम भयो ।

रोल्पाको यस हिरासतमा बन्दी भएपछि बाबुराम र हिसिलाको मनोदशा असामान्य बन्न थालेको रिपोर्ट जनसेनाका गार्डहरूले प्रचण्डलाई दिन थालेका थिए । उनीहरूको एक–एक रिपोर्ट प्रचण्डकहाँ दैनिकजसो पुग्ने व्यवस्था मिलाएको थियो जनसेनाको टुकडीले । उनीहरू भाग्न खोजेमा वा विद्रोह गर्न खोजेमा गोली हान्ने आदेश प्रचण्डले दिएका थिए । बाबुराम भागेर भारत गएमा गम्भीर समस्या आउन सक्ने देखेर यस्तो आदेश दिएको उनले हामीलाई बताएका थिए ।

त्यस बन्दी अवस्थामा मासु–भात खान दिएपनि राम्रोसंग खान नमान्ने र दुब्लाउँदै गएकोले तथा मानसिक तनावमा रहेकोले अन्यथा नहोस भनेर प्रचण्डले बाबुरामका अरु परिवारलाई स्याटेलाइट फोनमार्फत फोन गर्न अनुमति दिए । बाबुरामले यसैलाई प्रयोग गरेर आफु बन्दी अवस्थामा रहेको खबर भारत र सञ्चारमाध्यमलाइ दिन सफल भए । यसैबेला दरवारले रोल्पा रुकुमतिर फौजी कारवाही बढाउन थाल्यो भने भारतले पनि राजनैतिक दबाब बढाउन थाल्यो र बाबुरामको कारवाही फुकुवा गरी पुनस्र्थापना गर्न प्रचण्डमाथि दबाब दिन थाल्यो ।

बाबुराम त्यो बेला पार्टीभित्र भारतीय दलाल तथा एजेन्टको रुपमा बदनाम भैसकेका थिए । जनसेनाको जुन प्लाटुनले बाबुरामलाई कैद गरिराखेको थियो, त्यसका लडाकु योद्धाहरूले कयौैंपटक बाबुरामलाई तर्साउने काम पनि गरे । उनीहरू मध्ये केहीले बाबुरामले देख्ने गरि कोदाली बोकेर जान्थे र केहीले भने बाबुरामले सुन्ने गरि भन्थे कि आज आदेश आए जस्तो छ, साथीहरू खाल्टो खन्न गएका छन्, यी जोइपोइको नर्क जाने वेला भयो जस्तो छ, आदि । यस्तो सुनेपछि बाबुरामले खानाको छाक समेत छोड्ने गर्दथे र जनसेनाका कमाण्डरहरू बाबुरामलाई खाना खान मनाउन फकाउन थाल्थे अनि माथिबाट कुनै आदेश नआएको बताउँथे ।

‘बाबुरामलाई मार्न पर्‍यो कि के हो !’ भनेर रक्सी पिएको बेला कयौँपटक प्रचण्डले नजिक रहेकालाई भने पनि र उनको मनमा जे रहे पनि मार्ने आदेशै चाहिँ दिएका थिएनन् ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।